असार २७, चितवन । भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना २६ प ४८५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)
