कैदीबन्दीले आफन्तसँग तीन वर्षपछि टीका लगाए

Byपहिलो सुचना

२०७९ आश्विन १९, बुधबार १८:५४ २०७९ आश्विन १९, बुधबार १८:५४ २०७९ आश्विन १९, बुधबार १८:५४

असोज २०, तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन् ।

विजया दशमीको दसौं दिन बुधबार कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन् ।

कोभिड–१९ को संक्रमणपछि पहिलो पटक कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएका हुन् । विगतका वर्ष कोभिड–१९ को जोखिमका कारण आफन्तबाट टीका लगाउन रोक लगाइएको थियो ।

कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दीले दसैंका दिन आफन्तसँग भेटघाट गर्दै टीका लगाउन पाउँदा खुसी लागेको बताए ।

‘दसैंका बेला निधार खाली हुन्छ कि भन्ने चिन्ता थियो । तर आफन्तसँगै टीका लगाउन पाएर एकदमै खुसी लागेको छ,’ उनले भने ।

‘यो वर्ष आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका हौं,’ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले भने, ‘आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दीले राम्रो मान्नुभएको छ ।’ 

कैदीबन्दीहरूले खसैं मनाउन खसीबोका किन्न कोष बनाएका थिए । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरा लगायत खरिद गरिएको छ ।

‘सरकारले दसैं खर्चबापत प्रत्येक कैदीबन्दीलाई तीन सयका दरले रकम उपलब्ध गराउँछ । सोही रकम र मुढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन् । त्यही रकमबाट आवश्यक सामग्री खरिद गरी रमाइलो गरिएको छ,’ अधिकारीले भने ।

तनहुँ कारागारमा १२ महिलासहित दुई सय ८७ कैदीबन्दी छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook