असोज १५, खोटाङ । खोटाङमा गुड्दै गरेको बसमा आगलागी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको हो ।
काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा ३ ख ८९८१ नंको बसमा शनिबार अपराह्न एक्कासी आगलागी भएको हो ।
बसमा आगलागी हुँदा कुनै मानवीय क्षती भने नभएको घटनास्थलमा पुगेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ ।
काठमाडौंबाट दिक्तेल हिँडेको बस बीच बाटोमै आगलागी भएपछि त्यसमा सवार यात्रुहरू अलपत्र परेका छन् ।
आगलागी भएको बसमा ३२ जना यात्रु रहेको र उनीहरूलाई गन्तव्यसम्म पुर्याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए ।
गुड्दै गरेको बसको इन्जिनबाट आगो उठेको यात्रुहरूले बताएका छन् ।
आगलागी भएको बस पुरानो भएको र उक्त बसको इन्जिनमा जान गरिएको बिजुलीको तार एकअर्कामा जोडिँदा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए । (रासस)
