हावाहुरीले १४० ओटा विद्युत् पोलमा क्षति

Byपहिलो सुचना

२०७९ जेष्ठ ८, आईतवार १५:२३ २०७९ जेष्ठ ८, आईतवार १५:२३ २०७९ जेष्ठ ८, आईतवार १५:२३

जेठ ८, चितवन । जिल्लामा शुक्रवार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने भएको छ ।

हावाहुरीका कारण भरतपुरका १४० ओटा विद्युतका पोल ढलेका हुन् । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार भरतपुर महानगरको १ देखि ६ वडासम्म ती पोल ढलेका हुन् । ती पोललाई व्यवस्थित गरेर पूर्णरुपमा विद्युत् सञ्चालन गर्न अझै पाँच दिन लाग्ने उनले बताए  ।   
     
 केन्द्रका प्रमुख राजिवकुमार सिंहका अनुसार भरतपुर सबस्टेशनबाट वितरण भएको विद्युत् सेवा अवरूद्ध भएको हो । उनका अनुसार भरतपुरमा हावाहुरीले पोल ढल्दा ठाउँठाउँमा तार चुडिएका छन् ।

ढलेका पोल र तार मर्मतका लागि प्राधिकरणले चार ओटा ठेकेदारको टोली र प्राधिकरणको सम्पूर्ण प्राविधिक शक्ति परिचालन गरेको सिंहले बताए।     
     
 उनले अस्पताल र सुरक्षा निकाय, मतगणनास्थल, खानेपानीलगायत सम्वेदनशील क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विद्युत् पुनःसञ्चालन गरिएको बताए। चनौली सबस्टेशनबाट वितरण हुने बिजुलीमा भने समस्या नरहेको इञ्जिनीयर पौडेलले बताए।     
     
 भरतपुर पश्चिम क्षेत्रमा विद्युत् प्रवाहमा समस्या नभए पनि सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म विद्युत् प्रवाहमा समस्या रहेको उहाँले जानकारी दिनुभयो । हावाहुरीका कारण  ३० लाख  रुपैयाँको सामग्री क्षति भएको र ५ करोड  रुपैयाँको विद्युत् खपत अवरुद्ध भएको उनले जानकारी दिए ।     
     
 विद्युत् लामो समय नहुँदा मोबाइल फोन सेवासमेत प्रभावित भएको छ भने खानेपानी र इन्टरनेटसमेत प्रभावित छ । शुक्रवारको हावाहुरीका कारण तीनको ज्यानसमेत गएको थियो भने ११ घाइते भएका थिए । हावाहुरीले भरतपुरको मुख्य शहरी क्षेत्रका धेरै रुख लडेका छन् भने धेरैजसो ठाउँमा रुखले विद्युत् पोल लडाएको पाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook