फागुन ९, काठमाडौं । स्थानीयबासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौं उपत्यकाको फोहर उठाउन सकिएको छैन ।
नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ ।
हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको १८ स्थानीय तहका फोहर उठाउन नसकिएको हो ।
नौ दिनदेखि फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ । महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयबासीको अवरोध हटाइदिन माग गरेको छ ।
अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ ।
उनका अनुसार २०७० सालदेखि सुरू गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयबासीले आन्दोलन गरेकाले फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।
‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, उनी भन्छिन्, ‘त्यसका लागि बाटो छिटो निर्माण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’
सडक बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहर पटक-पटक रोकिँदा अपजस भने कामपाले पाउने गरेको छ ।
हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको बताइएको छ ।
कामपाले नियमित रूपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घकालीन समाधन खोज्न आवश्यक रहेको अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जनाइएको छ ।
काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
उक्त स्थान पनि भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।
हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ । (रासस)
