साउन १२, काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘इनोभेटिभ इन्डस्ट्रिज अवार्ड–२०७७’ बाट तीन कम्पनीलाई सम्मानित गरेको छ । अवार्ड पाउने उद्योगहरूमा लिफ प्लस प्रालि, नेपाल्ज ह्याण्डीक्राफ्ट इन्डस्ट्रिज र अनुग्रह ह्याण्डीक्राफ्ट रहेका छन् । मन्त्रालयले सोमवार उक्त उद्योगका प्रतिनिधिलाई सम्मान गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले भने, “अवार्ड पाउने उद्योगले नवप्रवर्तनकारी उद्यमशीलतामार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि र विविधीकरण गरी स्थानीय रोजगारी सृजनामा थप योगदान पु¥याउने अपेक्षा छ।”
काठमाडौं र ललितपुरमा स्थापना भएका यी तीन उद्योगमध्ये लिफ प्लसले खेर गइरहेका सुपारीका पातबाट विभिन्न आकारमा नयाँ डिजाइनका प्लेटहरू उत्पादन गरी जर्मनी, नेदरल्याण्ड र अष्ट्रेलियामा निर्यात गर्दै आएको छ।
यसैगरी नेपाल्ज ह्याण्डीक्राफ्ट इन्डस्ट्रिजले अनस्याचुरेटेड पोलिस्टरबाट विभिन्न आकार र स्वरूपमा धातुको जलप लगाइएका मूर्ति बनाउने गरेको छ।
त्यस्तै, अनुग्रह ह्याण्डीक्राफ्टले ढाकाका नयाँ डिजाइनका हातबुना कलात्मक साडी, कुर्ता, सल, टोपी, ब्याग, रुमाल लगायत सामग्री उत्पादन गर्दै आएको छ।
यो अवार्डले नवप्रवर्तनात्मक सोचमा आधारित उद्यम गरिरहेकाहरूलाई प्रोत्साहन गर्ने विश्वास मन्त्रालयको छ। सचिव पोखरेलले लघु, घरेलु मझौला तथा ठूला उद्योगहरूलाई समेत खोज, अनुसन्धान, आविष्कार र नवप्रवर्तनका क्षेत्रमा पु¥याएको योगदानको आधारमा सम्मान र प्रोत्साहन गरिने बताए।
