साउन ७, काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । परिसंघको १८औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन् । अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए ।
उनले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन् । साथै उनीसँग परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसकेको अनुभव पनि छ ।
नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् ।
पूर्वफुटबल खेलाडीसमेत रहेका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रोमोटर पनि हुन् ।
परिसंघको ३७ राष्ट्रिय परिषद सदस्य
परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनु हुनेछ ।
राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाण कुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् ।
यसैगरी प्रतिष्ठानतर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् ।
संस्थागत सदस्य समूह तर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
