आठ वर्षदेखि अलपत्र नगरकोट सडक निर्माण चैत १५ भित्रै सक्ने प्रतिबद्धता

Byपहिलो सुचना

२०७८ पुष ८, बिहीबार १४:१९ २०७८ पुष ८, बिहीबार १४:१९ २०७८ पुष ८, बिहीबार १४:१९

पुष ८, भक्तपुर । विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर-नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने कमलविनायक–नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ ।     

सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार रातिसम्म आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा आयोजनाका तर्फबाट सहभागी आयोजना प्रमुख गौतम श्रेष्ठले सातौं पटक थपिएको म्यादभित्रै कुनै पनि हालतमा सडक निर्माण सम्पन्न गरेर फर्कने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिका रूपमा आएका माधव खड्काले यो सडकमा निर्माण कम्पनीका तर्फबाट गम्भीर व्यवस्थापकीय कमजोरी भएको स्वीकार्दै अब म्याद थप नहुने गरी निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

कम्पनीकै तर्फबाट आएका अर्का प्रतिनिधि अनुप अधिकारीले यो सडक निर्माणमा ढिलाइ भएको जिम्मेवारी लिँदै आगामी चैत १५ गतेभित्र सबै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा नगरपालिकाले सबै दलका पार्टी अध्यक्ष वा प्रतिनिधिलाई कार्यक्रममा बोलाए पनि नेकपा (एमाले) र नेमकिपाबाहेक अरू दलका कोही प्रतिनिधि आएनन् ।

एमालेका जिल्ला अध्यक्ष बचन देउजा, नेमकिपाका प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजूको उपस्थिति रहेको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook