भदा्र २९, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैं पछाडि हट्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस-एमाले नै पछि हट्नुहुन्छ।’
अध्यक्ष दाहालले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईहरुले बरियता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’
उनले संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए । ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने ।
