असोज १३, काठमाडौं । शुक्रबार र शनिबार काठमाडौँसहित १४ जिल्लामा विषम वर्षा भएको मौसमविद्हरूले जनाएका छन् । यी दुई दिनको वर्षाले ती जिल्लाको २५ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा नयाँ रेकर्ड कायम गरेको छ । मौसमविद् गोविन्द झाका अनुसार ती ठाउँहरूमा मापन केन्द्र स्थापना भएदेखि यताकै सर्वाधिक वर्षा भएको हो ।
सरकारले विभागमार्फत् सन् १९७० देखि वर्षाको अभिलेख राख्न थालेको थियो ।
त्यसआधारमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मापन केन्द्रमा शनिबार ५४ वर्ष यताकै सर्वाधिक वर्षा मापन भयो । विमानस्थलमा शुक्रबार बिहान ८:४५ देखि शनिबार बिहान ८:४५ बजे सम्ममा २३९.७ मिलिमिटर वर्षा मापन भयो । यसभन्दा अघि यहाँको सर्वाधिक रेकर्ड १७७ मिलिमिटर मात्रै थियो ।
काठमाडौं उपत्यकामा मात्रै ११ वटा मापन केन्द्रमा वर्षाको नयाँ रेकर्ड बनेको छ । विभागका अनुसार काठमाडौँ जिल्लाका विमानस्थलसहित पानीपोखरी, बुढानिलकण्ठ, जितपुरफेदी र नागार्जुन, ललितपुरका गोदावरी, खुमलटार, टिकाथली, खोकना र चापागाउँ तथा भक्तपुरको नंखेल वर्षा मापन केन्द्रमा वर्षाको नयाँ रेकर्ड बनेको हो ।
पानीपोखरी क्षेत्रमा ५३ वर्षपछि सर्वाधिक वर्षा भएको छ । पानीपोखरी वर्षा मापन केन्द्रमा शुक्रबार बिहान ८:४५ देखि शनिबार बिहान ८:४५ बजेसम्म २०६.६ मिलिमिटर पानी परेको थियो । जबकि यहाँ सन् १९७१ पछि १९८ मिलिमिटरभन्दा बढी पानी नै परेको थिएन ।
उता तनहुँको खैरेनीटारमा पनि निकै लामो समयपछि विषम वर्षा भएको विभागले जनाएको छ । त्यहाँ शुक्रबार बिहान ८:४५ देखि शनिबार बिहान ८:४५ बजेसम्म २५२.३ मिलिमिटर वर्षा भएको थियो । जबकि सन् १९८३ पछि यहाँ यति धेरै वर्षा भएकै थिएन ।
सिन्धुपाल्चोकको बाहुनपाटीमा पनि सन् १९७८ यताकै सर्वाधिक वर्षा भएको छ । यहाँ शुक्रबार बिहान ८:४५ देखि शनिबार बिहान ८:४५ बजेसम्म १९०.६ मिलिमिटर वर्षा भयो । तर सन् १९७८ मा यसअघिकै धेरै १३७.५ मिलिमिटर वर्षा भएको थियो ।
त्यस्तै, नुवाकोटको ककनीमा शुक्रबार बिहान ८:४५ देखि शनिबार बिहान ८:४५ बजेसम्म १६९.२ मिलिमिटर वर्षा भएको छ । यहाँ सन् १९७२ यता १६१ मिलिमिटरभन्दा बढी वर्षा भएको थिएन ।
विभागका अनुसार काभ्रेका पाँचखाल, खोपासी र धुलिखेल वर्षा मापन केन्द्रहरूमा पनि वर्षाको नयाँ रेकर्ड कायम भएको विभागले जनाएको छ । त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क, चितवनको गोविन्दबस्ती, धादिङको गजुरी, झापाको चन्द्रगढी विमानस्थल, मकवानपुरको दामन, पाल्पाको बल्डयाङगढी, फिदिमको पाँचथर र तनहुँको सखर वर्षा मापन केन्द्रमा विषम वर्षा रेकर्ड भएको छ ।
विभागका अनुसार शुक्रबार र शनिबार ती १४ जिल्लामा भारी देखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा भएको थियो ।
यी हुन् नयाँ रेकर्ड कायम भएका २५ वर्षा मापन केन्द्र

मौसममा आजदेखि क्रमिक सुधार
शुक्रबार र शनिबारको भारी वर्षापछि आइतबार भने कोशी र लुम्बिनीबाहेकका ठाउँहरूमा मौसममा क्रमिक सुधार देखिएको छ । तर अहिले पनि नेपालमा मनसुनी वायुको प्रभाव र भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव कायम रहेको विभागले जनाएको छ ।
आइतबार राति पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ । त्यस्तै, कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार भने देशभर आंशिकदेखि साधारणतया बदली रहने र देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
अब फेरि शुक्रबार र शनिबारकै भारी वर्षाको सम्भावना भने नदेखिएको मौसमविद्हरूले बताएका छन् । तर सोमबार राति भने कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक-दुई स्थानमा पानी पर्न सक्नेछ ।
