भदौ ५, नयाँदिल्ली । भारतमा दैनिक संक्रमितको संख्यामा कमी आएको छ ।
सरकारी अधिकारीले शनिवार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ संक्रमित थपिएका छन् । जवकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५७१ जना नयाँ संक्रमित थपिएका थिए ।
त्यसैगरी अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको संख्यामा पनि कमी आएको छ । अघिल्लो दिन ५४० जनाको मृत्यु भएको थियो भने पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मन्त्रालयकाअनुसार अहिले संक्रमितका अवस्थामै रहेकाको संंख्या पनि १५१ दिन यताकै सवैभन्दा धेरै रहेको छ । अहिले भारतमा ३ लाख ६१ हजार ३४० जना संक्रमित अवस्थामै रहेका छन् । यो पनि अघिल्लो दिनको तुलनामा कम हो ।
अघिल्लो दिन भने संक्रमित अवस्थामै रहेका संक्रमितको संख्या ३ लाख ६३ हजार ६०५ रहेको थियो । कोरोनाभाइरसबाट संक्रमित भएर पनि भारतमा अहिलेसम्म ३ करोड १५ लाख ९७ हजार ९८२ जना संक्रमणमुक्त भइसकेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ३६ हजार ३४७ जना संक्रमणमुक्त भएका हुन् । (रासस/ एएनआई)
