होटल आगलागीमा ज्यान गुमाएका निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने

Byपहिलो सुचना

२०७९ माघ ५, बिहीबार २०:२९ २०७९ माघ ५, बिहीबार २०:२९ २०७९ माघ ५, बिहीबार २०:२९

माघ ५, काठमाडौं । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ ।

होटलमा आगलागी हुँदा १२ औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।

कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ ।

निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्यान्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदैछ । शव शुक्रबार राति साढे दस बजे काठमाडौं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको नेकपा (एमाले) का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको छ ।

निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई यसअघि नै निर्देशन दिएका थिए । शव नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निर्णयसमेत भएको छ । सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो ।

शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ । दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook