विश्वासको मत लिदै प्रधानमन्त्री प्रचण्ड

Byपहिलो सुचना

२०७९ पुष २६, मंगलवार ०७:०४ २०७९ पुष २६, मंगलवार ०७:०४ २०७९ पुष २६, मंगलवार ०७:०४

पुस २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिदै छन् ।

उनी पुस १० गते संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई ७ दलको समर्थन थियो । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् । हिजो बेलुका भएको भेटमा कांग्रेस सभापति देउवाले पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभापति देउवाले विश्वासको मत दिने तयारी गरेपछि कांग्रेसभित्र विवाद देखिएको छ ।

विश्वासको मत दिने कि नदिने भन्नेमा छलफल गर्न देउवाले संसदीय दलको बैठक बोलाएका छन् । बिहान ९ बजे बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने कांग्रेस नेताहरुले बताएका छन् । देउवाले प्रधानमन्त्री दिन नमान्दा कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रचण्डले एमालेसँग सहकार्य गरेका थिए ।

सत्ता गठबन्धन दलले प्रतिपक्षी दलसँग पनि विश्वासको मत माग्ने निर्णय गरेअनुसार प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही गएका थिए । अहिलेसम्म सत्तारूढ दलबाट १ सय ६९ सांसदको समर्थन छ । गएको १० गते तत्कालीन पाँच दलीय सत्ता गठबन्धन त्यागेर एमालेसँग मिलेपछि पहिलो पटक प्रचण्ड र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook