पुस २४, अर्घाखाँची । तीन महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । शृङ्खलाबद्ध रूपमा अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा तीन जनाको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती २२ वर्षीया शिवा परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरूले वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने काम गर्दै आएको आरोप छ ।
उनीहरूले शृङ्खलाबद्ध रूपमा यही पुस १७ गते अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए ।
श्रीमतीसँग मिलेर गरेको सुशान्तले बताएपछि उनकी श्रीमती शितगंगा–१० सिद्धाराकी शिवालाई प्रहरीले पक्राउ गरेको हो ।
गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा तीनै महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरू दुवैविरूद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको रिजालले जानकारी दिए ।
