मङ्सिर २१, दोहा । कतार विश्वकप फुटबल प्रतियोगितामा चोटका कारण दुई खेल खेल्न नपाएको झोँक नेमारले मङ्गलबार बिहान दक्षिण कोरियामाथि निकाले । नेमारको उत्कृष्ट प्रदर्शनको सहयोगमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले सजिलै हराएर विश्वकपको क्वाटरफाइनलमा स्थान बनायो । सो खेलमा नेमारले गोल पनि गरे ।
सर्बियाविरुद्धको पहिलो खेलमा नेमारलाई गोलीगाँठोमा चोट लागेको थियो । त्यसपछि ब्राजिलले स्विजरल्यान्डलाई बल्लतल्ल १–० ले हरायो भने क्यामरुनसँग १–० ले स्तब्ध भएको थियो । पछिल्ला दुई खेलमा नेमारबिना ब्राजिल सङ्घर्षरत र प्रभावहीन देखिएको थियो । तर नेमारको पुनरागमनसँगै ब्राजिल पुनः फरक टिमको रूपमा प्रस्तुत भएको छ । पूर्वाद्र्धमा नेमारले पेनाल्टीमा गोल गरी राष्ट्रिय टिमका लागि आफ्नो गोलसङ्ख्या ७६ पु-याएका छन् । अब ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेभन्दा नेमार एक गोलले मात्र पछाडि छन् ।
नेमारले जितपछि सर्बियाविरुद्ध घाइते भएपछि विश्वकपमा खेल्न नपाउने डरले हरेक रात आफूले रोएर बिताएको जानकारी दिए । “मेरो परिवारलाई थाहा छ, मैले यो समय कसरी कटाएँ । तर अन्त्यमा अहिले सबै ठीक भएको छ,” उनले भने। नेमारले आफू चाँडै निको हुनुको श्रेय फिजियोथेरापीलाई दिएका छन् ।
नेमार र ब्राजिलियाली टिमका लागि दक्षिण कोरियासँगको खेल भावनात्मक पनि रह्यो । क्यान्सरको उपचारार्थ अस्पतालमा रहेकी ब्राजिलियाली महान् फुटबलर पेलेको शरीरले प्रतिक्रिया दिन छोडेको रिपोर्ट आएपछि ब्राजिलका लागि सो खेल भावनात्मक बनेको हो । यद्यपि ८२ वर्षीय पेलेले सो खेल अस्पतालबाट हेर्ने भनी आफ्नो टिमको मनोबल उच्च पारेका थिए । नेमारले खेलपछि पेले लेखिएको ब्यानरसहित जितको खुसियाली मनाए । त्यसपछि ब्राजिलियाली टिमले मैदानको बीच भागमा सोही ब्यानरसहित सामूहिक तस्बिर लिएको थियो ।
नेमारले आफ्नो पुनरागमन खेलको १३औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । यस विश्वकपमा नेमारको यो पहिलो गोल भएको छ । सो गोलसँगै पेले र रोनाल्डोपछि नेमार ब्राजिललाई तीन फरक विश्वकपमा गोल गर्ने खेलाडी बने । यसअघि खेलको सातौँ मिनेटमा नै राफिनाको पासमा भिनिसियस जुनियरले गोल गरी ब्राजिललाई अगाडि पारेका थिए । खेलको २९औँ मिनेटमा रिचर्लिसनले तेस्रो तथा पूर्वाद्र्धमै भिन्सियसको पासमा लुकास पाक्वेटालो चौथो गोल गरे । खेलको ७६औँ मिनेटका दक्षिण कोरियाका पाइक सिउङ होले लामो दूरीबाट बल गोलपोस्टमा छिराएर सान्त्वना गोल गरे ।
दक्षिण कोरियाको भने सन् २००२ पछि पहिलो पटक क्वाटरफाइलनमा पुग्ने अभियान सफल हुन सकेन । दक्षिण कोरियाको हारसँगै कतार विश्वकपमा एसियाको चुनौती पनि समाप्त भएको छ । यसअघि आयोजक कतार, इरान र सउदी अरबको चुनौती समूह चरणमै सकिएको थियो भने दक्षिण कोरियासरह जापान र अस्ट्रेलिया प्रिक्वाटरफाइनलबाट बाहिरिएका थिए ।
जापान पेनाल्टीमा स्तब्ध
गोलरक्षक डोमिनिक लिभाकोभिचले पेनाल्टी सुटआउटमा तीन प्रहार विफल पारेपछि क्रोएसियाले सोमबार राति जापानलाई टाइब्रेकरमा ३–१ ले हराएर विश्वकप फुटबल प्रतियोगिताको अन्तिम आठमा पुगेको छ । निर्धारित र अतिरिक्त समयको खेल १–१ ले बराबरीमा सकिएपछि टाइब्रेकरमा जितहारको छिनोफानो भएको हो ।
पेनाल्टी सुटआउटमा क्रोएसियाका गोलरक्षक लिभाकोभिच नायक बने । उनले ताकुमी मिनामिनो, काउरो मिटोमा र माया योसिडाको प्रहार बचाएर जापानलाई निराश बनाए । जापान सन् २००२, २०१० र २०१८ मा पनि विश्वकपको प्रिक्वाटरफाइनलबाटै बिदा भएको थियो । यद्यपि अगाडि बढ्न नसके पनि जापानले जर्मनी र स्पेनलाई हराएर यस विश्वकपमा आफ्नो छवि उच्च पारेको छ । जापानको यी दुई जित विश्वकप फुटबल इतिहासकै सर्वाधिक स्तब्धकारी नतिजाको सूचीमा सामेल भएका थिए ।
पछिल्लो संस्करणको फाइनलमा फ्रान्ससँग पराजित भएको क्रोएसिया यस पटक प्रिक्वाटरफाइनलबाट बाहिरिने सम्भावना थियो । खेलको ४३औँ मिनेटमा डेइजान माइडाको गोलबाट क्रोएसिया पछाडि परेको थियो । त्यसपछि जापान नै अर्को गोल गर्ने टिमको रूपमा प्रस्तुत भयो । खेलको ५७औँ मिनेटमा डेजान लोभरेनको क्रसमा इभान पेरिसिचले दर्शनीय हेड गोलसहित खेल बराबर गरेपछि मात्र क्रोएसिया खेलमा फर्केको हो । यस गोलसँगै पेरिसिच दस गोलसहित क्रोएसियाका लागि प्रमुख प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बन्नुभएको छ ।
क्रोएसियाले अब सेमिफाइनलमा पुग्न पाँच पटकको विजेता ब्राजिलविरुद्ध खेल्नेछ । (एपी)
