मङ्सिर २०, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ ।
गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी बागमतीमा बगाइएको छ । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहोर सफा गर्न सुरूङको पानी बागमतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले जानकारी दिए । सुरूको पानी बागमतीमा पठाएपछि मंगलबारदेखि सुरुङको गेट बन्द गरिएको छ ।
केही दिन सुरुङ भर्न पानी बन्द गरिने उनले बताए । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो ।
असारदेखि सुरुङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ । यो पानी काठमाडौंस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल एक हप्तामा आइपुगेको हो । अर्को हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सुनाए ।
मंसिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरूमा सुरुङ सफा गरेको छ । सुरूङ सफा गरिसकेर जम्मा भएको पानी अर्को हप्ता भने राजधानीका ग्राहकलाई वितरण गरिने छ ।
पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् ।
वर्षामा बाढी आएर सुरूङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो । २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो ।
मेलम्चीको मुहानस्थलमा हेडवर्क्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ ।
