आकाशे पुल मर्मत गर्दै काठमाडौं महानगर

Byपहिलो सुचना

२०७९ मंसिर २०, मंगलवार १६:०१ २०७९ मंसिर २०, मंगलवार १६:०१ २०७९ मंसिर २०, मंगलवार १६:०१
Kathmandu Metropolitan City Office

मङ्सिर २०, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ। 

हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्। 

कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण गरेको हो भने पुराना पुल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएका हुन्।

पुराना पुलको अवस्था बुझ्न प्राविधिकलाई निर्देशन दिइएको र प्राविधिकको स्थलगत निरीक्षणपछि मर्मतको काम अघि बढ्ने कामपाले जानकारी दिएको छ। 

कामपाको लगानीमा निर्माण भएका बाहेक पुल निजी क्षेत्रले बनाएकाले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेको भनाइ छ। 

दुई दिनअघि कामपाको उपप्रमुख सुनिता डङ्गोलले पुरानो पुल असुरक्षित रहेको यात्रुबाट गुनासो आएकाले त्यस्ता पुलको समस्या यकिन गरी मर्मत गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई पत्राचार गर्न निर्देशन दिएकी थिइन्।   

महानगरले २०७६ सालमा पैदलयात्रुको अत्यधिक चाप भएका आठ स्थानमा  नयाँ आकाशे पुल निर्माण गर्ने निर्णय गरेको थियो। तर हालसम्म चार वटा मात्र निर्माण भएको छ। महानगरले टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडकमा आकाशे पुल निर्माण गर्ने भने पनि लामो समय बितिसक्दा काम अघि बढ्न सकेको छैन। 

हाल कामपाभित्र सुन्धारा, वीर अस्पताल, रत्नपार्क-भोटाहिटी, जमल, रत्नपार्क-बागबजार, भद्रकालीमा पुराना आकाशे पुल सञ्चालनमा छन् भने रत्नपार्कमा एउटा सव–वे सञ्चालनमा छ। त्यसैगरी स्थानान्तरण गर्न सकिने गरी कामपाले चाबहिल चोक, कोटेश्वर, रामशाह पथ र नेपाल विद्युत प्राधिकरण केन्द्रीय भवन अगाडिका स्थानमा पुल सञ्चालनमा ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook