मसिंर २०, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.८ डिग्री मापन गरिएको छ । यस्तै अधिकतम तापक्रम १९.९ डिग्रीको अनुमान गरिएको छ । मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ । मौसमविद हिरा भट्टराईका अनुसार तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ । पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ ।
हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको । तराईका जिल्लामा लागेको हुस्सु अब बिस्तारै पहाडी जिल्लामा बढ्दै जानेछ । मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर। डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ । अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो । यस्तै यतिबेला रात लामो हुने भएको र सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो बढ्छ ।
दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको उनले बताए । हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ५, जुम्लामा माइनस ३.८, र जिरिमा १.८ रहेको छ । पानी पर्यो भने पनि जाडो बढ्छ । तर अहिले तत्काल पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद भट्टराईले बताए । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। तराईमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

