रोकियो काठमाडौं महानगरले सुरू गरेको कुहिने र नकुहिने फोहोरको वर्गीकरण

Byपहिलो सुचना

२०७९ मंसिर २०, मंगलवार २०:०८ २०७९ मंसिर २०, मंगलवार २०:०८ २०७९ मंसिर २०, मंगलवार २०:०८
Kathmandu Metropolitan City Office

मङ्सिर २०, काठमाडौं । करिब पाँच महिनाअघि काठमाडौँ महानगरपालिकाले सुरू गरेको स्रोतमै फोहोर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको छ। फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहोर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापनका लागि लैजान सुरु गरेको थियो। सुरूको एक दुई हप्ता कामपाको योजनाअनुरूप काम भए पनि यसले निरन्तरता भने पाउन सकेन।  

कामपाको प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्साल स्थान अभावको कारण उक्त कार्यले निरन्तरता पाउन नसकेको बताउँछन्। कामपासँग खुला स्थानको अभाव भएकाले केन्द्र सरकासँग एकै स्थानमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन माग गरिएको छ।

‘सरकारले जग्गा उपलब्ध गराउने आश्वासन दिएको छ। जग्गा प्राप्त भएसँगै कुहिने र नकुहिने फोहोरको स्रोतमा नै वर्गीकरणको काम पुनः सुरू हुन्छ,  आशा छ नयाँ सरकार गठन भएसँगै उक्त कार्यले पुर्णता पाउने छ,’ लम्सालले भने, ‘कामपालाई कानुनी रूपमा आफ्नो क्षेत्रभन्दा बाहिर जग्गा अतिग्रहण गर्ने अधिकार छैन। त्यसैले केन्द्र सरकारलाई आग्रह गरिएको हो।‘

स्थान पहिचान भएसँगै कामपाले कुहिने फोहोरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर जान्छ। निजी क्षेत्रबाट दुई सय गाडीले फोहोर ओसार्छन्।

काठमाडौँ उपत्यकाको १८ पालिकाको फोहोर दैनिक रूपमा बञ्चरेडाँडा व्यवस्थापन हुँदै आएको छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न थालिएको हो। सबै किसिमका फोहोर बञ्चरेडाँडा पु¥याउन कहिले स्थानीयको अवरोध त कहिले सडकका कारण समस्या सिर्जना हुँदै आएको थियो। आगामी दिनमा प्रभावकारीरुपमा फोहोरको दीर्घकालिन समाधानका लागि स्थान पहिचान गरी कुहीने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने भने पनि उक्त कार्यले पूर्णताः पाउन सकेको छैन। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook