सभ्य भाषामा नो नट अगेन भन्न पाइन्छ : प्रमुख आयुक्त थपलिया

Byपहिलो सुचना

२०७९ कार्तिक २१, सोमबार २०:०१ २०७९ कार्तिक २१, सोमबार २०:०१ २०७९ कार्तिक २१, सोमबार २०:०१

कात्तिक २१, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सभ्य भाषामा नो नट अगेन भन्न पाइने बताएका छन् । सोमबार आयोगले कलाकारहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उनले कसैलाई पनि लाञ्छना नलगाई नो नट अगेन भन्न पाइने बताएका हुन् ।‘अहिले हामी निर्वाचनको अत्यन्त सुन्दर तलाउमा छौं । कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनुस् भनेको मात्रै हो । यो सुन्दर सागरमा दुष्प्रचार, मिथ्या सूचना र चरित्र हत्या गर्ने किसिमका पहरे नबिसाइदिनुहोस् भनेको मात्रै हो’ प्रमुख आयुक्त थपलियाले भने, ‘‘यहाँहरुले मजाले नो नट अगेन भन्न पाउनुहुन्छ, नो नेभर अगेन भन्न पाउनुहुन्छ, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन भन्न पनि पाउनुहुन्छ । तर सभ्य भाषामा भन्नुपर्छ । मित्रवत भाषामा भन्नुपर्छ । समाजले पचाउने भाषामा भन्नुपर्छ ।’

यसअघि आयोगले फेसबुकमा सञ्चालित नो नट अगेन पेज र ग्रुप बन्द गर्न निर्देशन दिएपछि अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सार्वजनिक रुपमा विरोध भएको थियो । उक्त विवादमा आइतबार सर्वोच्च अदालतले नो नट अभियानमाथि कारबाही नगर्न अन्तरिम आदेश पनि दिएको थियो ।

प्रमुख आयुक्त थपलियाले अभिव्यक्ति स्वतन्त्रतामा चरित्र हत्या र मिथ्या सूचना फैलाउने विषय नपर्ने पनि बताए । ‘लोकतन्त्र, निर्वाचन र अभिव्यक्ति स्वतन्त्रतासँग चरित्र हत्या गर्ने कुरा, मिथ्या सूचना दिने कुरा, दुष्प्रचार गर्ने कुरा र घृणास्पद अभिव्यक्ति दिने कुरा जोड्न हुँदैन, मिलाउनु हुँदैन’ उनले भने ।

प्रमुख आयुक्त थपलियाले आयोगले सामाजिक सञ्जालको प्रयोग सकारात्मक कुरामा गर्नुपर्ने बताए । ‘अहिले उम्मेदवारहरु घरदैलोका क्रममा हुनुहुन्छ, तपाईंलाई त्यो उम्मेदवार मन पर्दैन भने घरबस्तीमै गएर जनतालाई सिकाइदिनुस्, किन अध्यारो कोठामा बसेर ढुंगा हान्ने प्रयास गर्नुहुन्छ, उज्यालोमा नै जानुहोस्’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook