सत्ता गठबन्धनले भन्यो : राष्ट्रपतिको कदम गैरसंवैधानिक

Byपहिलो सुचना

२०७९ आश्विन ५, बुधबार १७:५७ २०७९ आश्विन ५, बुधबार १७:५७ २०७९ आश्विन ५, बुधबार १७:५७

असोज ५ काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम गैरसंवैधानिक भएको निष्कर्ष निकालेको छ। संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अस्वीकार गरेकी थिइन्। राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक पारित नगरेपछि आज बिहान सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफलमा जुटेका थिए।

उक्त छलफलपछि वक्तव्य जारी गर्दै सत्ता गठबन्धनका शीर्ष नेताले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको हो।
‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ,’ नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आज जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ।

राष्ट्रपतिको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमा(बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको पनि गठबन्धनको भनाइ छ।

‘संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको यो बैठक ठहर गर्दछ,’ वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपतिको यो कदमका विरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, संचार जगत लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा यो बैठक आह्रवान गर्दछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook