यु–२० एसियन कप छनोटमा नेपाल बङ्गलादेशसँग पराजित

Byपहिलो सुचना

२०७९ आश्विन ३, सोमबार १५:५८ २०७९ आश्विन ३, सोमबार १५:५८ २०७९ आश्विन ३, सोमबार १५:५८

असोज ३, काठमाडौं । बहराइनमा जारी एएफसी यु–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा आइतबार राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो ।

यस हारसँगै नेपाल छनोट खेलमा जितविहीन बन्यो । बङ्गलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले समान एक एक गोल गरे । छैटौँ मिनेटमा जोनीले गोल गर्दै बङ्गलादेशलाई सुरुवाती अग्रता दिलाए ।

११औँ मिनेटमा नोभाले गोल गर्दै बङ्गलादेशको अग्रता दोब्बर बनाए । २६औँ मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । बङ्गलादेशी खेलाडीलाई कुहिनाले हान्दै फल गरेपछि उनले रातो कार्ड पाए । 

त्यसपछि ३५औँ मिनेटमा कप्तान आयुस घलानले रातो कार्ड पाएपछि नेपाल नौ खेलाडीमा समेटियो । बङ्गलादेशका अजिजुल हक एनान्टोलाई ‘मिडल फिंगर’ साइन देखाएपछि घलानलाई रेफ्री अहमेद इसा मोहमदले सिधै रातो कार्ड देखाएका थिए । 

अजिजुलले पनि दोहोरो पहेँलो कार्ड पाएसँगै बङ्गलादेश पनि १० खेलाडीमा समेटिएको थियो । उनले नेपालका कप्तान आयुसलाई जिस्काएपछि कार्ड पाएका थिए । त्यसपछि ५२औँ मिनेटमा निजुमले गोल गर्दै बङ्गलादेशलाई ३–० को जित दिलाए । 

समूह चरणमा नेपालको यो लगातार चौँथो हार हो । पहिलो खेलमा नेपाल भुटानसँग २–०, दोस्रो खेलमा कतारसँग ३–१ र तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल ले पराजित भएको थियो । यता बङ्गलादेशको यो दोस्रो जित हो । बङ्गलादेश चार खेलमा सात अङ्क जोड्यो ।

बङ्गलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो । यस समूह ‘बी’को विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यु–२० एसियन कपमा स्थान बनाउने छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook