भदौ ३१, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो बयानमा हस्ताक्षर गर्न सहमति जनाएका छन् ।
महाअभियोग सिफारिस समितिले राणालाई सोधेको प्रश्नमा उनले दिएको बयान उतारेको थियो । राणाको बयान उतार्दा झण्डै १७३ पाना भएको समितिले जनाएको छ ।
राणाले सुरूआतमा आफ्नो बयानमा हस्ताक्षर गर्ने बताएका थिए । तर पछि हस्ताक्षर गर्न इन्कार गरेका थिए । “पहिला उहाँले हस्ताक्षर गर्छु भन्नुभयो । पछि फेरि हस्ताक्षर गर्दिनँ भन्नुभयो । त्यसपछि समितिले हस्ताक्षर नगर्ने हो भने एक एक लाइन पढी सुनाउँछौँ भनेपछि उहाँले अहिले हस्ताक्षर गर्न लाग्नुभएको छ” समितिमा रहेका सांसद मीनबहादुर विश्वकर्माले भने, ‘उहाँले हस्ताक्षर गरेपछि फेरि उनी माथि पूरक बयान लिने तयारी छ ।’
राणाले समितिले उतारेको बयान पढ्का लागि घर लगेपनि सम्भव नभएको जवाफ समितिमा दिएका थिए । “झण्डै दुई सय पेजको रहेछ । घरमा पढ्न पनि सकिनँ । देशको प्रधानन्यायाधीशको यस्तो छ हालतु, विश्वकर्माले भने, “अहिले समितिमा कागज दिदाँ यसमा हस्ताक्षर गर्दिनँ भन्नुभयो । केही माननीय सदस्यले उहाँले नगर्न पनि सक्नुहुन्छ भनेर प्रोभोकु गर्दिए जस्तो लाग्छ।”
राणाले अद्योपान्त पढेर हस्ताक्षर गर्ने भनेका कारण राणालाई हस्ताक्षर गर्नकै लागि ५/७ घण्टा लाग्न सक्ने विश्वकर्माले बताए।
सांसद यशोदा सुवेदीले राणाले आफ्नो बयान र उतार गरिएको लिखित रुजु गर्ने बताएकाले हस्ताक्षर गर्न समय लागेको बताइन्। “उहाँले रुजु गरेर हस्ताक्षर गर्दै हुनुहुन्छ । हामीले खाना खाने समयको ब्रेक लिएका छौँ। यसपछि बयान हुनेछु, सुवेदीले भनिन्, “आज बयान सक्ने तयारी हामीले गरिराखेका छौँ।”
राणाको बयान आजै सक्ने र सम्भव भएसम्म प्रतिनिधि सभाको समितिमा प्रतिवेदन बुझाउने समितिको तयारी छ।
तर नेकपा एमालेले राणाले आरोप लगायतका कतिपय विषयमा थप अध्ययन गर्नुपर्ने धारणा राख्दै आएको छ। त्यसैले समितिले प्रतिवेदन प्रतिनिधि सभाको बैठक बुझाउने नबुझाउने अन्यौल छ।
