असार २९, जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा शव फेला परेको छ । मंगलबार अर्ध जलेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा फेला परेको छ ।
महिलाको अनुहार लगायतका अगाडिपटिबाट जीउको अधिकांश भाग जलेर चिन्न नसक्ने अवस्थामा छ ।
उक्त शव कसको रहेको, कसैले हत्या गरेको वा कुन कारण अर्धरूपमा जलाएर छोडेको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
