साउन २३, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई)को परीक्षाफल आज दिउँसो प्रकाशित गरेको छ।
यस बर्षा कुल ५ लाख १७ हजार १ सय २२ जना बिद्यार्थीले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ जना बिद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उप नियन्त्रक चेतनाथ शर्माले बताएका छन् ।
गत बर्षा र यो बर्षा कोरोनाभाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी प्राप्तांक पठाएका थिए । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शनिबार परीक्षाफल प्रकाशन गरेको हो ।
नतिजा हेर्नको लागि परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकम र एनसेलको वेबसाइट मार्फत परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिए । यस्तै नेपाल टेलिकमको १६०० र एनसेलको १६०० नम्बरमा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

