साउन २३, काठमाडौं । जापान सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई दिने १६ लाख खोप मध्ये ५ लाख खोप नेपाल आईपुगेको छ । जापानले बनाएको कोरोनाविरुद्धको अष्ट्राजेनिका खोप शनिबार काठमाडौं आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चारणमा पाँच लाख १३ हजार ४२० डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले जानकारी दिए ।
कतार एयरलाइन्सको जहाजबाट शनिबार विहान खोप लिएर काठमाडौं आइपुगेको उनले बताए । उनका अनुसार आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउनेछ । शनिबार र आइतबार गरेर आठ लाख खोप आइपुग्ने र बाँकी आठ लाख खोप अर्को साता आइपुग्ने उनले बताए।
अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । त्यस्तै स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा। झलक गौतमले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई दिइनेछ ।
खोप अभियान यही साउन २५ गतेबाट सञ्चालन हुने उनले बताए । तर, प्रदेश १ र २ मा भने खोप अभियान शुरु भएको केही दिन ढिलो गरी शुरु हुने उनले जानकारी दिए ।

