असार १२, काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आइतबार बस्दैछ । सदन राष्ट्रियसभाको बैठक आज ११ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ ।
बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ ।
सचिवालयले सार्वजनिक गरेको आजको बैठकमा विभिन्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन (साउन २०७७–असार २०७८)’ पेस गर्नेछन् ।
प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
‘लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
