चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द गरिने

Byपहिलो सुचना

२०७९ जेष्ठ २९, आईतवार १९:४८ २०७९ जेष्ठ २९, आईतवार १९:४८ २०७९ जेष्ठ २९, आईतवार १९:४८

जेठ २९, चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ ।

निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो ।  

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरू भएसँगै निकुञ्ज भित्रका कच्ची वन पथ बिग्रने, जंगलमा भएका स-साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरूद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो ।

‘अर्को सूचना जारी नभए सम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको छ,’ उनले भने । 

निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । योसँगै राप्ती नदीमा गरिने डुंगा सफारी बन्द गरिएको उनले जानकारी दिए ।

वर्षातको समयमा डुंगा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई बन्द गरिएको हो । 

निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आवको वैशाखसम्म आठ करोड १७ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो समयमा एक लाख ५९ हजार ८८१ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए ।

उनीहरूमध्ये एक लाख ३६ हजार ५२२ नेपाली, १० हजार ९३४ सार्क मुलुकका र १२ हजार ४२५ अन्य मुलकका रहेको निकुञ्जले जनाएको छ । सोही अवधिमा निकुञ्जभित्र दुई करोड ४१ लाख ४० हजार पटक जंगलमा जिप सफारी गरिएको छ । निकुञ्जको मुख्य आम्दानी पर्यटकबाट हुने जंगल सफारी रहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook