बैशाख २३, रामपुर । पाल्पाको तिनाउ गाउँपालिका ५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।
बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नम्बरको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।
श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा निस्दी गाउँपालिका–४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका–३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन् ।
श्रेष्ठको अवस्था गम्भीर छ भने खाम्चाको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो । (रासस)
