रूपन्देहीका दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी

Byपहिलो सुचना

२०७९ बैशाख १४, बुधबार १२:१७ २०७९ बैशाख १४, बुधबार १२:१७ २०७९ बैशाख १४, बुधबार १२:१७ #स्थानीय चुनाव

बैशाख १४, रुपन्देही । रूपन्देहीमा दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छ । १६ स्थानीय तह रहेको जिल्लामा तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

तिलोत्तमामा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट आशाकुमारी चौधरीले प्रमुख पदमा मनोनयन दर्ता गराएका छन्।रूपन्देहीको जिल्ला कमिटी सचिवालय सदस्य रहेकी ४३ वर्षीया उनी अखिल नेपाल महिला संघको जिल्ला उपाध्यक्ष पनि हुन्। तिलोत्तमा १३ मडहा घर भएकी उनी व्यवसायी हुन्।

विसं २०५६ मा नेकपा (एमाले) को सदस्य बनेर पार्टीमा सक्रिय रहेकी उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका हुन्। उम्मेदवार चौधरीले बेरोजगार युवालाई सीपमूलक तालिमका साथै महिलाको हक र अधिकार र सशक्तीकरणका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी दिइन्। उनले शिक्षा, रोजगारी र स्वास्थ्यका एजेण्डा लिएर जनतासामु जाने बताइन्।

यसैगरी, लुम्बिनीमा लामो समयदेखि समाजसेवामा सक्रिय रमावती यादवले एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

दयाराम हेल्थ फाउण्डेसनका उपाध्यक्ष रहेकी उनले लुम्बिनी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएकी छन्।

लुम्बिनी सांस्कृतिक–१ निवासी यादवले सामाजिक सेवामा क्रियाशील रहँदा नागरिकको मनोभावना राम्रोसँग बुझ्ने मौका पाएकाले सोहीअनुसार काम गर्न आफूले उम्मेदवारी दिएको बताइन्।

महिलामाथिको विभेद अन्त्य, महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा र रोजगारी सुनिश्चित गरी भौतिक विकास र मानवीय विकासको सन्तुलन मिलाएर नगरको विकासको योजना लिएर चुनावी मैदानमा गएको प्रतिक्रिया दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook