चैत ११, नेपालगन्ज । रत्नराजमार्गको नेपालगञ्ज–कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन सुरू भएको छ ।
डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुर–जमुनाह सडकखण्डको १६ किलोमिटरमा दुवैतर्फ २५ मिटर अतिक्रमित क्षेत्र हटाउन सुरू गरेको कार्यालय प्रमुख होमबहादुर एसीले जानकारी दिए ।
उनका अनुसार, बिल्डअप एरियामा भने यसअघिकै निर्णयबमोजिम २१ मिटरसम्मका संरचना यथावत रहन दिइने भएको छ ।
कोहलपुरबाट अतिक्रमण हटाउन सुरू गरे पनि कोहलपुर उद्योग वाणिज्य संघले अतिक्रमण हटाउनेबारे स्थानीयबासीले जानकारी नपाएको जनाउँदै सात दिनको समय माग गरेको छ ।
स्थानीय व्यवसायीले समय मागेपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका उपस्थितिमा सात दिनको समय दिने लिखित निर्णय भएको छ ।
सात दिनभित्र पनि सडक क्षेत्रफल खाली नगरे सडक डिभिजनले हटाउने जनाइएको छ ।
कोहलपुरमा व्यवसायीले समय मागेपछि पिप्रहवाबाट संरचना हटाउन सुरू भएको छ ।
स्थानीय घरधनीले भने सडक डिभिजनले आफ्नो घर सडक क्षेत्रमा पर्यो कि परेन भनेर जानकारी नदिएकाले पनि समस्या भएको गुनासो गरेका छन् । (रासस)
