बैतडीमा देखिए कालाजारका बिरामी

Byपहिलो सुचना

२०७८ फाल्गुन २९, आईतवार १५:१५ २०७८ फाल्गुन २९, आईतवार १५:१५ २०७८ फाल्गुन २९, आईतवार १५:१५

फागुन २९, बैतडी । बैतडीमा कालाजारका बिरामी भेटिएका छन् ।

दोगडाकेदार गाउँपालिका-५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए ।

धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको हो ।

जोशीका अनुसार कालाजार पुष्टि भएपछि ती महिलाको सम्पर्कमा रहेकाको परीक्षण गरिएको छ ।  

‘कुनै व्यक्तिमा कालाजार देखिएमा सम्पर्कमा रहेका कम्तीमा १५ जनाको नमूना सङ्कलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीतिअनुसार हामीले छेउछाउका २१ जनाको नमूना सङ्कलन गरेर परीक्षण गरेका छौं ’,जोशीले भने । 

स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयवासीको कालाजार परीक्षण गरेको हो । जोशीका अनुसार नमूना सङ्कलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

समुदायका अन्य व्यक्तिमा पनि कालाजारको सङ्क्रमण हुनसक्ने भएकाले परीक्षण गरिएको हो ।

नमूना परीक्षणबाट नेगेटिभ आएपछि उक्त समुदायमा कालाजार नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कालाजार भएनभएको रगत परीक्षणबाट थाहा हुन्छ ।

कालाजार भएमा टाउको दुख्ने, ज्वरो आउने, छालामा विभिन्न खालको सङ्क्रमण हुने, तौल घट्ने, थकान महसुस हुने, रक्तअल्पता हुनेलगायतका लक्षण देखा पर्दछन् । 

कालाजार एक प्रकारको भुसुना (स्यान्डफ्लाइ) ले टोकेर हुने सरुवा रोग हो ।

रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा टोके यो रोग सार्ने गर्छ । लिस्मानियाबाट सङ्क्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो । यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउनेजस्ता उपाय उपयोगी हुने चिकित्सकको सुझाव छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook