सुनसरीमा बढ्यो निर्वाचन गतिविधि

Byपहिलो सुचना

२०७८ फाल्गुन २९, आईतवार १३:१५ २०७८ फाल्गुन २९, आईतवार १३:१५ २०७८ फाल्गुन २९, आईतवार १३:१५

फागुन २९, इनरुवा । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ उनीहरु भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ । 

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्र पारेका छन् ।

सरकारले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गतेलाई तय गरेको छ । कांग्रेसले सुनसरीको १२ स्थानीय तहको १२४ वटै वडामा टोल समिति गठन गर्नुका साथै पालिकास्तरीय, प्रदेशसभास्तरीय र संघीय निर्वाचन क्षेत्रस्तरीय भेला सम्पन्न गरेको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए ।

त्यसैगरी एमालेले जिल्लाको विभिन्न स्थानीय तहमा चुनाव लक्षित कार्यक्रमलाई अगाडि बढाएको पार्टीका जिल्ला सचिव पर्शुराम यादवले जानकारी दिए । पार्टी टोल समिति गठन,  १२ स्थानीय तहको १२४ वटै वडामा टोलभेला तथा प्रशिक्षण गर्ने तयारीमा जुटेको छ । एउटा वडामा पाँचदेखि २५ वटासम्म टोल कमिटी गठन गरिएको यादवले बताए । भ्रातृ संस्थाको  भेला, प्रशिक्षण र कमिटी गठनको कार्य भइरहेको उनले उल्लेख गरे ।

यस्तै माओवादी केन्द्रले पार्टीको नगर तथा गाउँपालिकामा जनवर्गीय सङ्गठन गठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाएको जिल्ला संयोजक योगेन्द्रप्रसाद मण्डलले जानकारी दिए ।

त्यसैगरी जनता (समाजवादी पार्टी) ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कमिटी गठन गर्ने, प्रशिक्षण अभियान सञ्चालन गर्नेलगायत कार्य अगाडि बढाएको जिल्ला अध्यक्ष भगिरथ खत्वेले जानकारी दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook