नागरिकता र भिजिट भिसा समस्या हटाउन गृहमन्त्रीसँग सांसदहरूको माग

Byपहिलो सुचना

२०७८ फाल्गुन २३, सोमबार ०९:२३ २०७८ फाल्गुन २३, सोमबार ०९:२३ २०७८ फाल्गुन २३, सोमबार ०९:२३

फागुन २३, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग सांसदले नागरिकता र भिजिट भिसालगायतका विषयमा देखिएको समस्या सम्बोधनका लागि पहल गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसद रङ्गमती शाही, विन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृहमन्त्री खाणलाई भेटेर नागरिकता, भिजिट भिसालगायतका विषय देखिएको समस्या सम्बोधनका लागि पहल आग्रह गरेका हुन् ।

सो अवसरमा नेकपा एमाले सांसद पाण्डेले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाको समितिबाट संसदमा गइसकेकाले पारित गर्ने अवस्था निर्माण गर्न आग्रह गरेकी थिइन् ।

वैवाहिक अङ्गीकृतबाहेकका विषयमा सहमति बनेकाले पास गरेर कानून बनाउँदा उपयुक्त हुने उनको भनाइ थियो ।

नागरिकतासम्बन्धी विषयले उमेर पुगेका पनि बैंक खाता खोल्न, पढ्न, विद्यालयमा भर्ना हुन र रोजगारीका लागि आवेदन दिन पनि समस्या भएकाले यथाशीघ्र समस्या समाधान गर्न पहलकदमी लिई दिन गृहमन्त्रीलाई उनीहरुले आग्रह गरेको मन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले बताए ।

भिजिट भिसाबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयवस्तु समेटिएको भन्दै उनीहरूले सच्याउन आग्रह गरेका थिए ।

पछिल्ला बलात्कार प्रकरणमा पीडित बालिकामाथि बढी प्रहार गर्ने काम भएको भन्दै रोक्न पहल गरिदिन पनि उनीहरुले आग्रह गरेका थिए ।

संविधानको मर्म र भावनाअनुरूप समावेशी र समानुपातिक आधारमा स्थानीय तह निर्वाचनमा कम्तीमा ५० प्रतिशत उम्मेदवारी दिने व्यवस्था दलहरूबाट हुनुपर्ने विषय पनि सो अवसरमा उठाएका थिए ।

म्यादी प्रहरी र निर्वाचन गर्ने कर्मचारी पनि ५० प्रतिशत महिला घटाउने विषयमा पनि उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा कांग्रेस सहमहामन्त्री उपाध्यायले अपराधमा ‘जेन्डर’ जोडिन नहुने बताएकी थिइन् ।

स्थानीय तह निर्वाचनमा महिलालाई पालिकाका उपप्रमुखमा मात्र होइन प्रमुखमा पनि निश्चित कोटा छुट्याउनुपर्ने तथा वडा अध्यक्षमा महिलाको सङ्ख्या कम रहेकाले बढाउने पहल पनि सरकारबाट हुनुपर्ने उनले बताइन् ।

गृहमन्त्री खाणले महिला सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook