फागुन १०, जनकपुर । मधेश प्रदेश सभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी फागुन २२ गते सम्मका लागि स्थगित भएको छ ।
आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै प्रदेश सभा सचिवालयले फागुन २२ गतेसम्मको लागि स्थगित गरेको हो ।
प्रदेश सभा भवनको कम्पाउण्डभित्र कालोपत्र गर्ने काम भइरहेको र फागुन १५ गते हुन लागेको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेश सभा सदस्य व्यस्त भएकाले आजको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
आज बस्ने बैठकमा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यतालिका थियो ।
यसअघि फागुन १ गते आह्वान गरिएको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेश सभा सचिवालयले स्थगित गरेको थियो । (रासस)
