साउन ९, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन ओटा अस्पताल तोकेको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार आज (शनिवार) देखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्न थालिएको छ। यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र खोप कार्ड प्रमाणीकरण हुँदै आएको थियो।
“खोप प्रमाणीकरणका लागि धेरै भीड भएकाले अन्य ३ अस्पताल थपिएको हो,” उनले बताए, “प्रमाणीकरणका लागि अस्पताल थपिएसँगै शुक्रराज अस्पतालमा भीड कम भएको छ।” यसअघि शुक्रराज अस्पतालबाट मात्र खोप प्रमाणीकरण हुने भएपछि विदेश जानेको भीड रहेको थियो। उनले चाँडै नै अनलाइनबाट खोप कार्ड प्रमाणीकरण गर्ने तयारीसमेत गरिएको जानकारी दिए।
अहिले सरकार र विभिन्न देशले खोप लागिसकेपछि वैदेशिक रोजगारमा जाने र विदेशमा अध्ययन भ्रमणमा जाने विद्यार्थीलाई खोप लगाइसकेपछि खोप कार्डको प्रमाणीकरण अनिवार्य लिनुपर्ने व्यवस्था गरेका छन्।
