पुष २५, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।
मध्यविन्दु नगरपालिका–१५ ढोकाडीका ६० वर्षीय टेकबहादुर कुमाललाई शनिबार बाघले आक्रमण गर्दा घाइते छन् ।
भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट कुमालको टाउकामा गम्भीर चोट लागेको छ । उनको अवस्था चिन्ताजनक छ ।
बाघको आक्रमणबाट घाइते भएका कुमाललाई स्थानीयले उद्धार गरी मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि ल्याएका थिए ।
मध्यविन्दुमा सामान्य उपचारपछि भरतपुर सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताए ।
नवलपुरको दुम्किबास, अरुणखोला, मध्यविन्दु क्षेत्रमा बाघका कारण स्थानीय त्रसित छन् । यसअघि पनि यस क्षेत्रमा बाघको आक्रमणबाट एक महिनाको अन्तरालमा दुई जनाको मृत्यु भएको छ ।
बाघले लगातार मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय थप चिन्तित बनेका छन् । उनीहरूले मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा ठोस पहल नभएको भन्दै गुनासो गरेका छन् ।
यस क्षेत्रमा बाघले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय नवलपुरले एक सूचना जारी गर्दै वन क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ ।
गाईवस्तु चराउन, घाँस काट्न, निउरो, च्याउ टिप्न वन क्षेत्रमा नजान कार्यालयले अनुरोध गरेको छ ।
बाघ नियन्त्रणका लागि प्रक्रिया अगाडि बढिरहेको र अझै जोखिम रहेकाले वन क्षेत्रमा जाँदा सावधानी अपनाउ डिभिजन वन कार्यालयले आग्रह गरेको छ । (रासस)
