पुष २०, काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी) ले काभ्रेपलाञ्चोकमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ । उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय संगठन विस्तार अभियानलाई तीव्र बनाएको हो ।
आइतबार धुलिखेल–१२ वडा कमिटी गठन गर्यो भने पार्टीले शनिबार चौँरीदेउराली–८ मा वडा कमिटी गठन र पनौती नगरमा युवासङ्घ गठन गरेको छ । समाजवादीले युवासङ्घ, किसान र महिला संगठनलाई वडास्तरमा लगिरहेको हो ।
काभ्रेपलाञ्चोकमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय संगठन निर्माण भइरहेको जिल्ला सचिव दीपक गौतमले बताए । उनले छ नगरपालिका र सात गाउँपालिका तथा १३५ वडा रहेको काभ्रेपलाञ्चोकको हालसम्म ८७ वडामा कमिटी गठन गरिएको जानकारी दिए ।
गौतमका अनुसार यही पुस मसान्तसम्म सबै वडामा कमिटी गठन सक्ने अभियान रहेको छ ।
उनले हालसम्म महिलाको पालिकास्तरमा सात तथा ६१ वडामा संगठन विस्तार भइसकेको बताए ।
उनका अनुसार युवाको नौ स्थानीय तहमा र ७२ वडामा, किसानको २५ वडामा तथा विद्यार्थीको १७ विद्यालय/क्याम्पसमा कमिटी गठन भएको छ ।
साथै १७ जनवर्गीय संगठनको पालिकास्तरमा कमिटी गठन भइसकेको जनाइएको छ । पार्टीले विशेषगरी वडास्तरमा पार्टी कमिटीसँगै युवा, महिला र किसान जनवर्गीय संगठन घोषणा गरिरहेको छ ।
केही वडा कमिटी गठन गर्न पार्टीका संघीय तथा प्रदेशमन्त्रीसमेतलाई उपस्थित गराइएको छ । गत महिना स्थानीय तहमा पार्टीको कमिटी निर्माणपछि काभ्रेपलाञ्चोकमा संगठन विस्तारको अभियानलाई थप तीव्रता पारिएको जनाइएको छ ।
‘वडा कमिटी गठन गर्न जिल्ला तथा केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएअनुसार तीव्र रूपमा भइरहेको छ, आउँदो पुस मसान्तसम्म सक्ने योजनाअनुसार गाउँस्तरमा लागेका छौं’, जिल्ला अध्यक्ष टोकबहादुर वाइवाले भने ।
मण्डनदेउपुर नगरमा भने सबै वडामा कमिटी निर्माण भइसकेको छ । वाइवा उक्त नगरको प्रमुखसमेत रहेका छन् । उनले क्रमैसँग जनवर्गीय संगठनसमेत गठन गर्दै गएको बताए ।
नेकपा (एमाले)सँग विभाजन भएसँगै निर्माण भएको उक्त पार्टीमा गत भदौ अन्तिम साता काभ्रेपलाञ्चोकमा निर्वाचित ५६ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सनाखत गरेका थिए ।
तत्कालीन एमाले नेतृत्वले एकलौटी ढंगले पार्टी सञ्चालन र मनोमानी रूपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको वाइवाले बताए ।
एकीकृत समाजवादीमा काभ्रेपलाञ्चोबाट नेतृत्व गरेका एमालेबाट निर्वाचित पूर्वसांसदत्रय शिवबहादुर देउजा, कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा रहेका छन् ।
देउजा हाल समाजवादीमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष छन् भने कृष्णप्रसाद सापकोटा पोलिटब्यूरो सदस्य र अर्का सापकोटा केन्द्रीय सदस्य रहेका छन् । जिल्लामा हालका दुई प्रदेश सांसद पनि समाजवादीका छन् । (रासस)
