हिउँमा फसेका बाबुछोरा पाँच दिनदेखि उद्धारको पर्खाइमा

Byपहिलो सुचना

२०७८ पुष १९, सोमबार ०८:३१ २०७८ पुष १९, सोमबार ०८:३१ २०७८ पुष १९, सोमबार ०८:३१

पुष १९, फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन ।

आइतबार बिहान दुई पटक अल्टिच्युट एयरको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार भएन ।

करिब ५५ वर्षका लाक्पा टासी र उनका १५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबार हिउँमा फसेका थिए ।

‘चौँरीसँगै हिउँ पहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ, हामी निस्कन नसक्ने भयौँ’ भन्दै गत शनिबार उद्धार गर्न लाक्पाले आग्रह गरेका थिए ।

वडाअध्यक्ष डण्डु शेर्पालाई लाक्पाले फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए ।

समुद्री सतहबाट चार हजार मिटर उचाइमा रहेको पापुङको लोनाक भन्ने ठाउँमा चौँरीगोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका हुन् ।

गत शनिबार ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकप्टर दुई पटक उडान गरेको थियो। तर कुन ठाउँमा हो भन्ने मेसो नपाएपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको थियो ।

फेरि आइतबार बिहान दुई पटक उद्धारका लागि सुकेटरबाट पापुङको लोनाक ठाउँमा गए पनि बाबुछोरा बसेको ठाउँ पत्ता नलागेपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

फोन सम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताए । धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकप्टरमार्फत उद्धार गर्ने पाण्डेले बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook