कांग्रेस महाधिवेशन : उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

Byपहिलो सुचना

२०७८ मंसिर २६, आईतवार ११:४३ २०७८ मंसिर २६, आईतवार ११:४३ २०७८ मंसिर २६, आईतवार ११:४३

मङ्सिर २६, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मङ्सिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ । यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।

यसअघि शनिबार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएका थियो । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो ।

महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको थियो । बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन समयावधि तोकिएको थियो ।

निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको छ । उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । यसैगरी महामन्त्रीमा डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीको उम्मेदवारी परेको छ ।

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी मनोनयन गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसङ्ख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खसआर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७ जना र खुलातर्फ ११० जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश १ बाट १३, प्रदेश २ बाट पाँच, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि नौ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook