मङ्सिर २६, काठमाडौं । काठमाडौंमा आइतवार यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।
विभागका अनुसार आइतवार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ । यसअघि शनिवार ५ दशमलव ४ डिग्री सेल्सियसमापन गरिएको थियो । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ ।
काठमाडौंसँगै देशभर चिसो बढेको मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार अब चिसो निरन्तर बढ्दै जाने छ । केही अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।
मुलुकभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आइतवार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । (रासस)
