विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा

Byपहिलो सुचना

२०७८ कार्तिक २७, शनिबार १५:३२ २०७८ कार्तिक २७, शनिबार १५:३२ २०७८ कार्तिक २७, शनिबार १५:३२

कात्तिक २७, हेटौँडा । राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले  वाग्मती प्रदेश सरकारको  विद्युतीय बस खरीद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ । 

आर्थिक वर्ष २०७६/७७ देखि विद्युतीय बसलाई  प्रदेश सरकारको गौरवको  कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि  त्यो अन्योलमा परेको हो । 

उक्त बस सञ्चालनका लागि आव २०७६/७७ मा बस खरीद र सञ्चालनका लागि विनियोजन भएको रू. २८ करोड र आव २०७७/७८ मा  विनियोजन भएको रू. ४० करोड फ्रिज भएको छ ।

प्रदेश  सरकारले  चालू आव २०७८/७९ मा  पहिलो चरणमा ३० वटा विद्युतीय बस खरीद  गर्ने र  १५ ओटा चार्जिङ स्टेसनका लागि  सामग्री खरीद र जडान प्रक्रिया समेतका लागि  रू. ५० करोड विनियोजन गरेको बताइए पनि चालू आवको चौथो महिना बित्नलाग्दासमेत बस खरीद प्रक्रियासमेत शुरु भएको छैन ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको  यातायात व्यवस्थापन बोर्डका अनुसार  हालसम्म बस खरीद प्रक्रिया अगाडि नबढेकाले चालू आवमा बस सञ्चालन हुने स्थिति देखिन्न । 

बोर्डका कार्यकारी निर्देशक जगदीश ढुङ्गानाले बस खरीदका लागि आह्वान गरिएको बोलपत्र अनुमानित रकमभन्दा बढी कबोल भएपछि रद्द गर्नु परेको  जानकारी दिए । यसैगरी आवश्यक बस सञ्चालनका लागि पूर्वाधार नभएसम्म तत्काल बस खरीद नहुने बोर्डका पदाधिकारीहरुले बताएका छन् । अहिले सबै काम रोकिएको बताइएको छ । 

तत्कालीन प्रदेश सरकारले २०८५ सालभित्र प्रदेशका  मुख्य सहरमा इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई विस्थापित गर्ने लक्ष्य लिएको थियो । प्रदेशसभामा  विभिन्न विरोध हुँदा पनि विद्युतीय बस खरीद योजनालाई  तत्कालीन प्रदेश सरकारले चालू आवमै पास गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook