कात्तिक नाट्य महोत्सवः आज साँझ ‘सुदामा प्याखँ’ नाच मञ्चन हुने

Byपहिलो सुचना

२०७८ कार्तिक २४, बुधबार ०८:४७ २०७८ कार्तिक २४, बुधबार ०८:४७ २०७८ कार्तिक २४, बुधबार ०८:४७

कार्तिक २४, काठमाडौं । पाटनको कृष्ण मन्दिर परिसरस्थित ‘कात्तिक डबली’ मा आज ‘सुदामा प्याखँ’ नाच मञ्चन हुने भएको छ । हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन गर्न लागिएको हो । 

यस वर्षको पहिलो दिन आज भगवान् कुष्ण र उनका प्रिय मित्र सुदामाको कथामा आधारित भएर नाटक वा नृत्य मञ्चन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए। ‘यस नाचमार्फत दुई मित्रबीचको घनिष्ठता, उहाँहरु एक ईश्वर र अर्का गरिब दुःखी भए पनि प्रेमपूर्ण र आधारको सम्बन्धलाई यस नाचमार्फत देखाउने छौं।’

यसैगरी कृष्ण र सुदामा गुरुकुलमा अध्ययन गर्दाको बाल्यकाल, सुदामा जवानी हुँदै जाँदा लोभी भएका कारण देखिएको दरिद्रतालाई उजागर गरी नाचमार्फत मानिस लोभी हुनुहुँदैन, यदि लोभी भयो भने यस्तै दरिद्रता भोग्नुपर्छ भन्ने सन्देश पस्कने उनले जानकारी दिए।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। प्रत्येक वर्ष कात्तिक नाच सुरू गर्नु अघिल्लो दिन ललितपुर महानगरपालिका–१२ स्थित पाटनको नासलचोक र नाट्यश्वर महादेव मन्दिरमा गएर महादेवको पूजा तथा आराधना गर्ने चलनानुसार मंगलबार सो विधि पूरा गरिएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए।

यस वर्ष सुदामा प्याखँसँगै बिहीबार अनि शुक्रबार दुवै दिन बाथःप्याखँ, शनिबार युद्धकला, आइतबार देवी प्याखँ, सोमबार जल शयण अर्काे मङ्गलबार बराह अवतार र अन्तिम दिन बुधबार नृसिंह अवतार नृत्य मञ्चन गरी बिट मारिने समितिका प्रचार विभाग संयोजक सञ्जय शर्मा राजोपाध्यायले जानकारी दिए।

सो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा सम्पूर्ण नेपालीसामू रहन सफल भइरहेको जनाइएको छ। ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्य, मान्यता बोकेको यस नाचको गरिमा आज पनि उत्तिकै उच्च स्थानमा रहेको छ। यस गरिमायम नाचको सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ। 

कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ। सो नाचको थालनीले सुरुआती चरणदेखि नै जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ । 

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैंले ठूलो विशेषता बोकेको छ। 

कात्तिक नाच प्रथमपटक पाँच दिन प्रदर्शनी भएको थियो । सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन सञ्चालन गरिएको जानकारहरू बताउँछन्।

यसैगरी श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई पछि थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका इतिहासकार बताउँदछन् ।

मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र  प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको थियो। यो ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत सांस्कृतिक जर्गेना गर्ने माध्यम पनि बनिरहेको छ। हिन्दूका साथै बौद्ध धर्मावलम्बीका लागि पनि अति महत्वपूर्ण सो नाट्य महोत्सव यस वर्ष आठ दिन मञ्चन गरिने भएको छ भने गत वर्ष मुलुकमा कोरोना महामारी बढेकाले दुई दिन मात्रै देखाइएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook