साउन ३, काठमाडौं । दोस्रो पटकको बिघटन पछि पनि सर्वोच्च अदालतले पुनस्थापना गरेको प्रतिनिधिसभाको पहिलो बैठकबाट प्रधानमन्त्री शेरबाहदुर देउवालाई विश्वासको मत प्राप्त भएको छ ।
प्रतिनिधिसभाको हाल विद्धमान रहेको २७० सभासद मध्ये उपस्थित २४९ सदस्य र सो मध्ये १६५ जनाले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गरेका छन् । जसमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८(सभामुख बाहेक), जासपाको ३२, नेकपा एमाले को समेत गरि , जनमोर्चा, र नेमकिपा एक एक मत प्राप्त गरेका हुन । विश्वासको बिपक्षमा भने नेकपा एमाले को ८३ मत खसेको छ भने राप्रप्राको १ संसद तटस्थ बसेका छन ।

पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले गत पुष ५ गते गरेको प्रतिनिधिसभाको विघटन सर्वाेच्च अदालतले असंवैधानिक ठहर गर्दै फागुन ११ गते बदर गरेको थियो । सर्वाेच्च अदालतको आदेशलाई समेत वेवास्त गर्दै ओलीले २०७८ जेठ ८ गते राति २ बजे पुनः प्रतिनिधिसभाको विघटन गर्दै निर्वाचनको घोषणा गरेका थिए । तर सर्वाेच्च अदालतले ओलीको दोस्रो प्रयासलाई पनि बदर गर्दै शेरबाहदुर देउवालाई २८ घण्टा भित्र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्न असार २८ गते परामादेश जारि गरेको थिए । धारा ७६ को उपधारा ५ अनुसार नियुक्त भएको प्रधानमन्त्रीले उपधारा ६ बमोजिम ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार देउवाले विश्वासको मत परिक्षण गरेका थिए भने सो परिक्षणमा उनले विश्वासको मत प्राप्त गरेका हुन ।
