देउवा र पौडेल कांग्रेसबाट ‘रिटायर्ड’ हुन सिंहको आग्रह

Byपहिलो सुचना

२०७८ कार्तिक ५, शुक्रबार ०७:३५ २०७८ कार्तिक ५, शुक्रबार ०७:३५ २०७८ कार्तिक ५, शुक्रबार ०७:३५

कार्तिक ५, धादिङ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन्।

यो कुरा उनले बिहीबार धादिङ पुगेर भनेका हुन्।

सिंहले कांग्रेसको १४ औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने सङ्केत गर्दै पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गर्नका लागि आफू नै योग्य भएको बताए।

वर्तमान नेतृत्वले पार्टीलाई सही दिशामा लान नसकेको आरोप लगाउँदै उनले आफू सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्दै हिँडेको बताए।

अझै दुई जिल्लाको सदस्यता विवाद भएकाले सो समाधान गरेर अब तोकिएकै समयमा महाधिवेशन गर्नै पर्ने उनको माग छ।

यसअघि महाधिवेशन तोकेपछि जस्तोसुकै कठिन अवस्थामा पनि सम्पन्न गर्ने गरेकाले अहिले तीनपटक महाधिवेशन तोकेर पनि सर्दै आएकामा चिन्ता व्यक्त गरेका थिए।

पार्टीको महाधिवेशन समयमै गर्नुपर्ने बताउँदै आफू देउवा र रामचन्द्रपछिको नेता भएकाले संस्थागतरूपमा पार्टी चलाउन आफूले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook