असोज ५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज बस्दै छ ।
करिब एक महिना अघि एमालेबाट अलग भएर नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल हुने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिए ।
सो बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल हुनेछ । बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमासमेत छलफल हुनेछ । उक्त बैठकमा केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्नेछ ।
बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ ।
