असोज ५, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ ।
सोमबार प्रतिनिधि सभाबाट पारित गरेको बजेटका तीनवटै विधेयक पेस गर्ने आजको राष्ट्रिय सभा बैठकमा कार्यक्रम छ। आजको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गरिनेछ।
दलहरुबीच सहमति भएमा सम्भवत: आजै विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । विधेयकमाथि सैद्धान्तिक छलफल भए पछि ७२ घण्टा संशोधन समय दिइनेछ । यश समयमा सांसदहरले बजेटमाथि संशोधन राख्न पाउँछन् ।
राष्ट्रिय सभा सदस्यहरुलाई विधेयकमाथि खर्च कटौतीको प्रस्तावसमेत राख्न पाउँछन्। सांसदले यस्तो प्रस्ताव राखेमा त्यसमाथि पनि छलफल हुनेछ । त्यसपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउने छ । त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि विधेयक कार्यान्वयनमा आउनेछ ।
त्यसपछि मात्रै सरकारले खर्च गर्न पाउने छ । हिजोको प्रतिनिधि सभा बैठकमा एमालेको अवरोधकाबीच विनियोजन विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्र ऋण र आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।
