भाद्र २५, काठमाडौं । सरकारले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको संशोधित बजेट ल्याएको छ।
अध्यादेश बजेट २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले संशोधित बजेट ल्याएका हुन् । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्माओलीको सरकारले अध्यादेशमार्फत ल्याइएको बजेटलाई प्रतिस्थास्पन गर्दै शंसोधित बजेट ल्याएको उनले बताए ।
उनले आन्तरिक ऋण ३७ अर्ब रुपैयाँ घटाइएको तथा चालूतर्फको खर्च १० प्रतिशत कटौती गरिएको पनि बताएका छन्। अघिल्लो सरकारले अध्यादेश मार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।
उनले संसदमा तीन ओटै विधेयक प्रस्तुत गर्दै पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार घटाएको पनि बताए ।
यसै बीच सरकारले २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैत मसान्तसम्म काठमाडौंमा फेरि पानी झार्ने उल्लेख छ ।
त्यस्तै सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने बताएको छ । अर्थमन्त्री शर्माले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने बताए ।
त्यसैगरी सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने बताएको छ ।यसैबीच बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती भएको छ । अर्थमन्त्री शर्माले यसरी कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको पनि बताएका छन् ।
