चैत १५, काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको हो ।
राजतन्त्रका पक्षधरहरू प्रदर्शनका क्रममा अराजक भएका कारण कर्फ्यु जारी भएको हो । प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रमा व्यक्तिका भवनहरु, सञ्चार गृह, भाटभटेनी र सरकारी सम्पत्ति तोडफोड र आगजनी समेत गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा ४:२५ देखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
जारी भएको आदेश अनुसार गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ ।


