विपद्जन्य घटना : तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति

Byपहिलो सुचना

२०८१ कार्तिक १०, शनिबार ०७:४५ २०८१ कार्तिक १०, शनिबार ०७:४५ २०८१ कार्तिक १०, शनिबार ०७:४५

कात्तिक १०, बागमती । बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा वाग्मती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय ७७ जनाको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट एक सय ५७ जना, बाढीमा बगाएर ११ जना र डुबेर नौ जनाको मृत्यु भएको छ ।

यस्तै सो अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए । सो अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उनको भनाइ छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ ।

विपद्बाट ती जिल्लामा नौ हजार सात सय ७८ पंक्षी र पाँच सय १६ चौपायाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए । सो अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, छ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको वाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । सो कार्यालयका अनुसार विपद्बाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

बाढी, पहिरोजन्य विपद्बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपद्बाट तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० रुपैयाँ बराबरको धनमालको क्षति भएको वाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

पुल तथा सडक बगाएपछि संघीय राजधानी काठमाडौँलाई जोड्ने धेरै सडक अवरुद्ध भएको र विस्तारै मर्मतसम्भार गरी क्रमशः सञ्चालन भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook